काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो।
यसअघि अदालतले श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो। सोहीअनुसार अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसैबीच, श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार नै सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।






