बागमती र लुम्बिनीमा राप्रपा तटस्थ बस्ने

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ। 

दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्। ‘राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्। 
सोमबार बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै छन्। बागमतीमा कांग्रेस नेतृत्वमा सरकार रहेको छ भने लुम्बिनीमा नेकपा ९एमाले० नेतृत्वका सरकार रहेको छ। 

दुवै प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच सरकार गठनका लागि सहमति भएको छ। तर, दुवै प्रदेशमा दुवै दलका मुख्यमन्त्रीसँग बहुमत छैन। दुवैलाई साना दलको साथ आवश्यक छ। 

यस्तोमा राप्रपाले भने तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाले आफ्ना सदस्यलाई तटस्थ बस्ने ह्विप जारी गरेको श्रेष्ठले जनाएका छन्। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै प्रदेशका संसदीय दलका नेतालाई तटस्थ बस्ने निर्देशन दिएको श्रेष्ठले जनाएका छन्। राप्रपाका बागमती प्रदेशमा १२ र लुम्बिनीमा चार जना सांसद छन्।