लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। ८३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो। मतदानमा ७१ जना सांसद सहभागी भएका थिए।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेकपा, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाका एक सांसदले उनको पक्षमा मतदान गरेका हुन्।

विश्वासको मतको पक्षमा ४५ मत परेपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए।

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहे भने तीन जना तटस्थ बसे। अनुपस्थित हुनेमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा रहेका छन्।

हाल लुम्बिनी प्रदेशमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ छन् भने नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ रहेको छ।

जसपा नेपाललाई पार्टी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि आचार्य नेतृत्वको सरकारलाई बहुमत जुटेको हो। जसपा नेपालका चार सांसदले विश्वासको मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत पुग्ने अवस्था थिएन।