काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले पछिल्लो दुई सातामा रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी गराए।
उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिका–उवामा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए। साउन ३० गते लुङ्ग्री गाउँपालिकाको धैरेनीमा पहिरोमा परी एक जनाको मृत्यु भएको उनले बताए।
त्यस्तै, अघिल्लो साता सेरममै पहिरोमा परी थप दुई जनाको मृत्यु भएको थियो भने परिवर्तन गाउँपालिकाको पाछावाङमा एक जनाको ज्यान गएको पुनले जानकारी दिए। लुङ्ग्री गाउँपालिका–१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पनि उनले सदनलाई बताए।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले विपद्को विषयमा आफूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेरै ध्यानाकर्षण गराइसकेको जानकारी पनि दिए।
पुनले विपद्को पूर्वतयारीदेखि खोज, उद्धार र राहतसम्मका सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका संयन्त्र चुस्त बनाउन तथा राहत सामग्री तत्काल पुर्याउनुपर्ने उनको भनाइ थियो।
पहिरोका कारण अवरुद्ध सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउन माग गर्दै उनले सडकसँगै खानेपानी आयोजना र पुलमा पुगेको क्षति पनि शीघ्र पुनर्निर्माण गर्न आग्रह गरे।
रोल्पाका पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा दीर्घकालीन जोखिम पहिचानका लागि तत्काल भौगर्भिक अध्ययन टोली पठाउनुपर्ने पुनले बताए। प्रभावित बस्तीको पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
‘पूर्वतयारीमा सरकारको ध्यान जाओस्। खोजतलास र उद्धारका लागि संयन्त्रहरू चुस्त बनुन् र राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुगोस्,’ पुनले भने।
उनले सुलिचौर–उवा–थवाङ सडक तत्काल सुचारु गर्नुका साथै क्षतिग्रस्त खानेपानी, सडक र पुलको पुनःनिर्माण गर्न र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि भौगर्भिक अध्ययन अविलम्ब अघि बढाउन सरकारसँग माग गरे।







