नेपालगञ्ज । लागुऔषध नियन्त्रण ब्यूरोले बाँकेको कोहलपुरबाट १४ किलो ७६० ग्राम अफिम चोपसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार लागुऔषध बिक्री–वितरणमा संलग्न गिरोहको निगरानी गर्ने क्रममा नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
अफिम चोपको कारोबार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै जना भाग्न खोजेका थिए। उनीहरूलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको जनाएको छ।
पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ गिरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम चोप र दुई थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।







