काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ आज स्वदेश फर्कंदै छन्। स्वदेश प्रस्थान गर्नुअघि उनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको रूपमा बालेन शाहको कार्यभार सम्हालेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय सैन्य तथा राजनीतिक भेटवार्तासमेत हो। यस भेटका क्रममा दुई देशबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सैन्य सहकार्यका विविध विषयमा कुराकानी हुनेछ।
राष्ट्रपति पौडेलबाट ‘मानार्थ महारथी’ सम्मान
भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको प्रतिष्ठित ‘मानार्थ महारथी’ को पदवी ग्रहण गरेका थिए। नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथी प्रदान गर्ने ऐतिहासिक र विशिष्ट सैन्य परम्परा रहिआएको छ।
तीनदिने भ्रमणका मुख्य गतिविधिहरू
शहिद श्रद्धाञ्जली र गार्ड अफ अनर: नेपाल भ्रमणको सुरुवाती दिनहरूमा टुँडिखेलस्थित सैनिक मञ्चमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा नेपाली सेनाले उनलाई सम्मानगारत प्रदान गरेको थियो।
सैन्य सहकार्य र ब्रिफिङ: नेपाली सेनाका प्रधान सेनापतिसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै नेपाली सेनाका युद्धकार्य महानिर्देशक बाट समसामयिक सैन्य सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिएका थिए।
शिवपुरी कलेजमा सम्बोधन: उनले शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा पुगी प्रशिक्षणार्थी अधिकृतहरूलाई सम्बोधन गर्नुका साथै त्यहाँका प्रशिक्षक र विदेशी विद्यार्थी अधिकृतहरूसँग अन्तर्क्रिया गरेका थिए।
भूतपूर्व सैनिकहरूसँग भेटघाट: पोखरामा आयोजित भूतपूर्व भारतीय सैनिकहरूको भेला मा सहभागी भई उनले वीर नारीहरू तथा वीरता पुरस्कार प्राप्तकर्ताहरूलाई सम्मान गर्नुका साथै भेट्रान्सहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत सम्पन्न गरेका छन्।
प्रधानमन्त्री बालेन शाहसँगको उच्चस्तरीय भेटघाट र पोखराको कार्यक्रमसहित आफ्नो भ्रमणका सम्पूर्ण औपचारिक कार्यसूचीहरू पूरा गरी सेना प्रमुख सेठ आजै आफ्नो पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गर्नेछन्। यो भ्रमणले नेपाल र भारतबीचको परम्परागत सम्बन्ध र सैन्य सहकार्यलाई थप उचाइमा पुर्याएको छ।







