काठमाडौं । सरकारले संघीय सरकारअन्तर्गतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय तत्काल कार्यान्वयन हुन सकेको थिएन।
महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयसँगै अब प्रत्येक महिना १५ दिनको अवधि पूरा भएपछि कर्मचारीलाई तलब तथा भत्ता भुक्तानी गरिने भएको छ। यसका लागि सम्बन्धित संघीय निकायबाट निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइएको छ।
सरकारले सुरुवाती चरणमा अर्थ मन्त्रालयबाट अर्धमासिक तलब भुक्तानीको व्यवस्था लागू गरेको थियो। चालु आर्थिक वर्षदेखि भने यो व्यवस्था सबै संघीय निकायमा विस्तार गर्ने निर्णय गरिएको थियो। प्रणाली विकासमा भएको ढिलाइका कारण कार्यान्वयन करिब एक महिना पछि सुरु भएको हो।






