काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ भने अन्य तराई भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
त्यसैगरी, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







