अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल गरिरहेकाले सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक रास्वपाको आन्तरिक छलफल लम्बिएपछि प्रभावित भएको हो। लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि मन्त्री र सांसदहरूसँग छलफल गरिरहेका छन्।

रास्वपाको बैठक लम्बिएपछि पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधिसभाको बैठक केही समय सार्न आग्रह गरेका थिए। रास्वपाका सांसदहरू पार्टीको आन्तरिक छलफलमै व्यस्त भएपछि निर्धारित समयमा संसद्को कारबाही अघि बढ्न नसकेको हो।

रास्वपाको उक्त बैठकलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। पार्टीको आन्तरिक छलफल सकिएपछि प्रतिनिधिसभाको बैठक सुरु हुने बताइएको छ।