सरकार पुनर्गठन गर्न रवि लामिछानेलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले लामिछानेलाई सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका हुन् ।

उनले रास्वपाका सभापतिका रूपमा लामिछानेले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्ने बताए ।

‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने ।

सरकार पुनर्गठनका लागि पहल नगरिए आन्दोलनको अवस्था आउन सक्ने थापाले चेतावनी दिए । उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा जनआन्दोलन हुन सक्ने दाबीसमेत गरे ।

‘अन्तिम विकल्प बाँकी छ । अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल र २०६२ सालको भन्दा विशाल तथा अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ,’ उनले भने ।