काठमाडौं । सबै सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिमा कार्यरत कर्मचारीले पनि सरकारले वृद्धि गरेको तलब, ग्रेड र प्रोत्साहन भत्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयले सम्बन्धित सबै संस्थान, बोर्ड, निगम तथा समितिलाई पत्राचार गर्दै बढेको तलबभत्ता कार्यान्वयन गर्न निर्देशन दिएको हो । मन्त्रालयले अर्थको सहमतिविना थप आर्थिक दायित्व सिर्जना हुने गरी कुनै पनि प्रकारका भत्ता तथा सुविधा वृद्धि नगर्नसमेत स्पष्ट पारेको छ ।
सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरेको थियो । अर्थमन्त्रीस्तरीय भदौ २ गतेको निर्णयअनुसार सार्वजनिक संस्थान, बोर्ड, निगम तथा समितिमा कार्यरत कर्मचारीलाई समेत उक्त सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।
मन्त्रालयका अनुसार संस्थानमा हाल प्रोत्साहन भत्ताका रूपमा कुनै सुविधा पाइरहेका कर्मचारीको विद्यमान भत्ता सरकारले तोकेको नयाँ दरभन्दा कम भएमा कम भएको रकम बराबर मात्र थप भत्ता उपलब्ध गराउनुपर्नेछ ।
यस्तै, प्रोत्साहन भत्ता कर्मचारीको कार्यसम्पादन सूचकका आधारमा उपलब्ध गराउने व्यवस्था क्रमशः लागू गर्दै लैजानसमेत मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।






