झापामा विपद्का २५ घटना, ३४ लाखको क्षति

झापा । झापामा गत साउन महिनामा बाढी, पहिरो, आगलागी, चट्याङ र जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीका अनुसार साउनमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका पाँचवटा आगलागीबाट मात्रै रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ ।

यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । ती घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङका घटनाबाट पनि रु पाँच लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिए ।