मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले श्रीमान्विरुद्ध दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन् । बुधबार उनी छोरा यशवर्धन आहुजासँग मुम्बईस्थित पारिवारिक अदालत पुगेकी थिइन् ।
गोविन्दाका म्यानेजर शशि रञ्जनले सुनीताले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन् । उनका अनुसार अहिले गोविन्दा र सुनीताबीचको अवस्था सामान्य बन्दै गएको छ । पछिल्ला दुई वर्ष उनीहरूका लागि सहज नरहेको पनि रञ्जनले बताएका छन् ।
अदालतबाहिर सुनीता र यशवर्धनको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा पापाराजीले अदालतमा के भएको थियो भनेर प्रश्न गर्दा यशवर्धनले ‘केही भएको छैन, जान दिनुहोस्’ भनेका थिए । त्यसपछि उनले आमालाई क्यामेराको भीडबाट जोगाउँदै कारसम्म पुर्याएका थिए ।
कारमा चढ्नुअघि सुनीताले आफूहरू जन्मदिन मनाउन गएको भन्दै प्रतिक्रिया दिएकी थिइन् ।
सुनीताले सन् २०२४ को डिसेम्बरमा बान्द्रास्थित पारिवारिक अदालतमा गोविन्दाविरुद्ध सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन् । उक्त विषय सार्वजनिक रूपमा भने गत वर्ष अगस्टमा आएको थियो ।
यसबीच गोविन्दा आफ्नो आगामी कमब्याक फिल्म ‘रूपा’की सह–अभिनेत्री कोमल रानी स्वर्णकारसँग देखिएपछि सुनीताले सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन् । उनले गोविन्दा आफूभन्दा छोरीको उमेरकी युवतीसँग घुमिरहेको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
सुनीताले कोमलको पहिरन शैलीमाथि समेत टिप्पणी गरेकी थिइन् । उनले गोविन्दासँग जोडेर ‘सुगर ड्याडी’ लगायतका शब्द प्रयोग गर्दै आफ्नो स्तर र शैलीको समेत चर्चा गरेकी थिइन् । उनले उक्त घटनालाई निकै खराब र घटिया सोचको संज्ञा दिएकी थिइन् ।
सुनीताको टिप्पणीप्रति गोविन्दा पनि आक्रोशित बनेका थिए । उनले सुनीतालाई आफ्नो सीमामा रहन चेतावनी दिँदै सह–अभिनेत्रीको बचाउ गरेका थिए । साथै, सुनीताले आफूलाई बदनाम गर्न कुनै कसर बाँकी नराखेको आरोपसमेत लगाएका थिए ।
गोविन्दा र सुनीताले सन् १९८७ मा निजी समारोहबीच विवाह गरेका थिए । त्यसबेला गोविन्दा बलिउडमा स्थापित भइसकेकाले उनीहरूले करिब दुई वर्षसम्म आफ्नो विवाहलाई गोप्य राखेका थिए । छोरी टिना आहुजाको जन्मपछि उनीहरूले विवाहबारे सार्वजनिक रूपमा जानकारी दिएका थिए । उनीहरूका एक छोरा यशवर्धन आहुजा पनि छन् ।






