राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। सेवाग्राहीको चाप घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता, विवरण संशोधन तथा कार्ड वितरण सेवा यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाका दिनमा समेत सञ्चालन हुँदै आएको थियो।

तर पछिल्लो समय सेवाग्राहीको संख्या क्रमशः घट्दै गएपछि भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ।

यससँगै कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई परिवर्तित समयअनुसार कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।