काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत गरिमामाथि भएको जघन्य अपराधले आफू स्तब्ध र आक्रोशित भएको बताएका छन्। उनले घटनाको न्यायका लागि काठमाडौंको माइतीघर मण्डलालगायत देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन्।
उनले गरिमामाथि भएको अपराधलाई एउटा परिवारमाथिको पीडाका रूपमा मात्रै हेर्न नहुने उल्लेख गर्दै यसले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
‘छोरीहरू भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो,’ प्रचण्डले भनेका छन्।
घटनाको शीघ्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गर्दै उनले अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारलाई आग्रह गरेका छन्।






