काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनता र व्यवसायीहरूमाथि डर, त्रास र आतङ्क सिर्जना गरेर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले विरोधी र लक्षित व्यक्तिहरूलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग भइरहेको दाबी गरे। “जसलाई पाता कास्नु छ त्यसलाई पाता कस्न, जसलाई जेल हाल्नु छ त्यसलाई जेल हाल्न र जसलाई बदनाम गर्नुछ त्यसलाई बदनाम गर्नका लागि तमासा भइरहेको छ,” उनले भने।
अध्यक्ष ओलीले व्यवसायी र ठेकेदारहरूलाई नियोजित रूपमा धराशायी बनाउने खेल भइरहेको भन्दै आक्रोश व्यक्त गरे। “जसको सम्पत्तिमा आँखा लागेको छ, त्यसको सम्पत्ति जफत गर्ने, बैंक खाता बन्द गरिदिने काम भएको छ,” ओलीले भने, “कसले भनेजति पैसा दिएन, त्यसलाई डुबाइदिनका लागि कारोबार नै रोकिदिने गरिएको छ।”
यसरी नियतवश कारोबार रोक्दा व्यवसायीहरूको ठूलो क्षति हुने र उनीहरू पछि हट्न नसक्ने अवस्थामा पुग्ने ओलीको भनाइ थियो।
सरकारको यस्तै शैली र हर्कतका कारण देशमा त्रासको वातावरण बनेको भन्दै ओलीले यसलाई ‘राज्यको तमासा’को संज्ञा दिएका छन्।







