गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

काठमाडौं – बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।

गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयका अधिकारीहरूले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग अहिले छलफल गरिरहेका छन् ।

सरकारसँग छलफलका लागि गरिमाका आमा–बुबा शनिबार दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन् ।

छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालय पुगेकी छन् ।

गरिमाको न्यायको माग गर्दै बारा, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन तथा आन्दोलन जारी छ । स्थानीयवासीले घटनामा संलग्न दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आएका छन् ।