तिशा शाक्य बनिन् १९औँ संस्करणको मिस नेवाः नेपाल

काठमाडौं । राजधानीमा सम्पन्न १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन् ।

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धिलाई पछाडि पार्दै प्रमूख उपाधि जितेबापत तिशाले नगद एक लाख रुपैयाँ प्राप्त गरिन् ।

उपाधि विजेता तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन् । सोबापत उनलाई थप १० हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए । फस्ट र सेकेन्ड रनर्सअप भएवापत सारिकाले ५० हजार र जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप भए । करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए । सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने ।

प्रतियोगितामा दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस र प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते । कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि नगद १० हजार रुपियाँसहित शिक्षा महर्जनले जितिन् भने बेलाभिटा मिस पर्सनालिटी नगद १० हजार रुपियाँसहित निश्ला महर्जनले जितिन् ।