सप्तरी । शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया नाबालिका खुशी खातुनको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले उनकी १९ वर्षीया सौतेनी आमा मुस्कान खातुनलाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोहम्मद इरफानकी छोरी खुशी आइतबार घरबाट अचानक बेपत्ता भएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा घरपछाडिको झाडीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनामा सौतेनी आमा मुस्कानको संलग्नता देखिएको छ। बालिकाको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि प्रारम्भिक तथ्य र अनुसन्धानका आधारमा मुस्कानलाई पक्राउ गरिएको उनले बताए।
स्थानीयका अनुसार मृतककी बुबा इरफानकी जेठी र कान्छी पत्नीबीच पछिल्लो समय घरायसी विवाद तथा सम्पत्तिको हकदारसम्बन्धी विषयमा विवाद हुँदै आएको थियो। जेठी पत्नी छोरीसँग पुर्ख्यौली घरमा बस्दै आएकी थिइन् भने कान्छी पत्नी नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
घटनापछि आक्रोशित स्थानीयले आइतबार केही समय रुपनी बजार तथा राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले सम्झाइबुझाइ गरेपछि बजार तथा यातायात सञ्चालनमा आएको छ।





