काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा सञ्चालनमा आएको छ । यसअघि आपतकालीन सेवाका सवारी साधनलाई मात्र प्रवेश दिई परीक्षण गरिँदै आएको सुरुङमार्ग अब चारपाङ्ग्रे साना सवारी साधनका लागि खुला गरिएको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग अझै परीक्षणकै चरणमा रहेकाले हाललाई कार, जिप र भ्यानलाई मात्र प्रवेश अनुमति दिइएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए ।
हाल सुरुङमार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन तथा दुईपाङ्ग्रे सवारीलाई प्रवेश निषेध गरिएको छ । ठूला सवारी साधनलाई भने परीक्षण अवधि पूरा भएपछि सुरुङमार्गबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।
जैसीका अनुसार हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा सुरुङमार्ग सञ्चालन हुनेछ । अवस्था र परीक्षणको परिणाम हेरेर आगामी एक–दुई दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
त्यसपछि सुरुङमार्ग सञ्चालनको समय क्रमशः बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने तयारी गरिएको छ ।







