काठमाडौँ, ८ भदौ । धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ। सेवा विस्तारसँगै सोमबारदेखि उक्त क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
बडीमालिकामा सञ्चार सेवा पुगेपछि स्थानीयवासीसँगै तीर्थयात्री, पर्यटक तथा सरकारी र गैरसरकारी निकायलाई समेत सहज हुने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट फोर–जी सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए। उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गरे।
मन्त्री तिमिल्सिनाले सेवा विस्तारका क्रममा सहयोग गर्ने नेपाल टेलिकमका कर्मचारी, उपकरण तथा निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानीमा सहयोग गर्ने नेपाली सेना र स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिए।
सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिकामा टावर स्थापनाका लागि खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवादसमेत गरेका थिए। उनले टावर निर्माणको अवस्था, सेवा सञ्चालन र प्राविधिक टोलीले सामना गरिरहेका चुनौतीबारे जानकारी लिएका थिए।
नेपाल टेलिकमका प्राविधिक टोलीले बडीमालिकाको विकट भौगोलिक अवस्थाका बाबजुद टावर निर्माण सम्पन्न गरेको हो। सडकमार्गबाट उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक सामग्री बडीमालिका क्षेत्रमा लगिएको थियो।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनु कम्पनीको प्राथमिकतामा रहेको बताइन्। व्यावसायिक लाभलाई मात्रै आधार नबनाई सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
बडीमालिका क्षेत्रमा सेवा विस्तारका लागि सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिएको थियो।
नेपाल टेलिकमका अनुसार बडीमालिका मन्दिर समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा छ। टावर भने करिब ४ हजार २३० मिटर उचाइमा रहेको लौरी विनायक क्षेत्रमा स्थापना गरिएको छ।
बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम भए पनि धार्मिक, पर्यटकीय र पदयात्राका दृष्टिले यसको महत्व ठूलो रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले बताए। फोर–जी सेवा सञ्चालनमा आएपछि बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्र पुग्ने तीर्थयात्री र पर्यटकलाई मोबाइल तथा इन्टरनेट प्रयोगमा सहज हुने भएको छ।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ। त्यसअनुसार दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार, फोर–जीको पहुँच वृद्धि, सेवा गुणस्तर सुधार र नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ।
यसैक्रममा जुम्लाको हाट सिँजा क्षेत्रमा पनि भदौ ५ गतेदेखि नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजारमा सेवा विस्तार भएपछि सिँजा क्षेत्रको सञ्चार पहुँच थप सहज भएको छ।
त्यस्तै, सगरमाथा आधार शिविरमा फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ। डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायतका उच्च हिमाली क्षेत्रमा यसअघि नै फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।
नेपाल टेलिकमका अनुसार देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। नयाँ टावर निर्माण र विद्यमान पूर्वाधारको क्षमता विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल र इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ।







