बादल र इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डिपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभामा प्रयोग गरेका केही शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

संसद्मा अमर्यादित तथा अनावश्यक शब्द प्रयोग भएको भन्दै सभामुख अर्यालले ती शब्द कार्यवाहीको अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

सांसद रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ तथा नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द अभिलेखबाट हटाउन निर्देशन दिइएको हो।

सभामुख अर्यालले सांसदहरूलाई संसद्मा बोल्दा छिमेकी तथा मित्र राष्ट्रहरूको शासन प्रणाली वा अभ्यासबारे गलत अर्थ लाग्ने गरी अनावश्यक टिप्पणी नगर्न पनि ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।