राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावमाथि निर्णय गर्दै राष्ट्रिय सभाले विधेयकलाई समितिमा पठाउने स्वीकृति दिएको हो ।

प्रस्ताव सर्वसम्मतिले पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् ।