कात्तिक २, सुर्खेत ।
जिल्लाको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति स्थापना गरिएको हो । शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको मन्दिर हो ।
वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले मन्दिरलाई विश्वसामु चिनाउन शिवको २१ फिट तथा पार्वतीको ३० फिट गरी ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको बताए । उक्त मूर्ति एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडेर निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनारीश्वरको मूर्ति भएको उनको दाबी छ ।
मूर्ति घटस्थापनाको अवसर पारेर स्थापना गरिएको हो । मूर्ति निर्माण तथा स्थापना कार्यमा रु ८९ लाख खर्च भएको बताइएको छ । विसं २०७५ मा लगाइएको महापुराणबाट रु एक करोड सात लाख २९ हजार ९०० सङ्कलन भएको थियो ।
चार सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरुले दर्शन गरे ती समस्याबाट मुक्ति पाउने विश्वास छ । (रासस)







