काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो, लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली जोड्ने बीपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखी राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ।
यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडकमा हिलो जम्दा पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्ग भदौ ५ गते खहरे खोलाबाट आएको लेदो र ढुङ्गासहितको पहिरोका कारण पूर्णरूपमा बन्द भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।
उता, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम जारी रहेकाले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।






