वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले मिल क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पर्साको पिपरास्थित चिनी मिलको स्थलगत निरीक्षण गरेको हो।

अनुगमनका क्रममा कार्यदलले कारखाना भवनलगायत भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोगको सम्भावनाबारे अध्ययन गरेको संयोजक यादवले जानकारी दिए।

सरकारले चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न गत भदौ १ गते यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य छन्।

कार्यदलले १५ दिनभित्र मिलको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता, आवश्यक कार्ययोजना र सरकारलाई दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार गर्नेछ।