जिल्ला अस्पताललाई पिसीआर मेसिन

कात्तिक २, नवलपरासी ।
कोभिड–१९ परीक्षणका लागि अब अन्य जिल्लामा स्वाब पठाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर मेसिन आएसँगै स्वाब परीक्षणलाई अन्यत्र जिल्ला पठाउनुपर्ने बाध्यता हट्ने भएको हो । शनिबार मध्यविन्दु जिल्ला अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको मेसिन सञ्चालनमा आउन भने अझै एक महिना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताए । पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न करिब एक महिना लाग्ने उनको भनाइ छ ।

शनिबार सांसद तिलक महतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोपाल खनाललाई पिसीआर मेसिन हस्तान्तरण गरेका थिए । सांसद महतको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लामा पिसीआर मेसिन पठाएको हो ।

मेसिनसँगै परीक्षण किट र आवश्यक अन्य स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ । करिब रु एक करोड बराबरको मेसिन र सामग्री उपलब्ध भएको सांसद महतले जानकारी दिए ।

सांसद महतले सङ्घीय सरकारबाट पिसीआर मेसिन उपलब्ध भएको भन्दै मेसिन सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्तिको छिट्टै व्यवस्थापन हुने समेत बताए ।

उनले छिटोभन्दा छिटो काम गर्नसमेत अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । नवलपुरवासीको मागलाई सरकारले सम्बोधन गरेर पिसीआर मेसिन उपलब्ध गराएको भन्दै उनले देशकै नमूना बन्ने गरी काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।

पिसिआर मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षणलगायत काम गर्नुपर्ने भएकाले आउँदो मङ्सिरदेखि मात्रै मेसिनबाट परीक्षणको काम हुने जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डा शिवराज न्यौपानेको भनाइ छ ।

मेसिन सञ्चालनका लागि चारवटा कोठाको आवश्यकता पर्ने उनले बताए । भाइरस बाहिर ननिस्कने गरी सुरक्षित ल्याबको निर्माण गर्न पनि बाँकी नै छ ।

अहिले दक्ष जनशक्ति पनि अस्पतालमा नभएकाले सबैको व्यवस्थापन गर्न अझै एक महिना लाग्ने देखिएको छ । मेसिन सञ्चालनमा आएर आवश्यक जनशक्ति परिचालन हुनसकेमा दैनिक चार सय वटासम्म स्वाबको परीक्षण गर्न सकिने न्यौपानेले बताए । (रासस)