रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि भीषण बाढी आएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा अचानक बाढी आएको हो।

बाढीका कारण टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी परियारले तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको उल्लेख गर्दै भोटेकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको बताए।

बाढीको जोखिमलाई मध्यनजर गर्दै उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।