औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

काठमाडौं- औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः भरत भट्टराईले पाएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।

औषधिको मूल्य निर्धारणसम्बन्धी विषयमा विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि राष्ट्रिय औषधि प्रयोगशालाका तत्कालीन निर्देशक भट्टराईलाई पनि मन्त्रालय तानिएको थियो। एघारौँ तहका भट्टराईलाई गत वैशाखमा मन्त्रालय तानिएको थियो।

मन्त्रालय तानिएको झण्डै साढे पाँच महिनापछि भट्टराईले पुनः औषधि व्यवस्था विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिएसँगै यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी दशौँ तहकी शिवानी खड्गीको जिम्मेवारी अन्त्य भएको छ।

भट्टराई यसअघि पनि विभागको महानिर्देशक भइसकेका थिए । पुनः महानिर्देशकको जिम्मेवारी पाएसँगै विभागको औषधि नियमन, मूल्यसम्बन्धी विषय तथा बजार अनुगमनलगायतका महत्वपूर्ण जिम्मेवारी अब उनको नेतृत्वमा अघि बढ्नेछ।