काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल भेटेरिनरी एशोसिएसनले गहिरो दुःख व्यक्त गरेको छ।
एशोसिएसनले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिहरूको शीघ्र सकुशल उद्धारका लागि कामना गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत र मानवीय सहयोगलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार, सुरक्षा निकाय तथा उद्धारकर्मीलाई अपिल गरेको छ।
बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा पशुपन्छी तथा मत्स्यपालन हुँदै आएको भन्दै एशोसिएसनले विपद्बाट उक्त क्षेत्रमा समेत ठूलो क्षति पुगेको हुनसक्ने जनाएको छ। पशुपन्छीको तत्काल उद्धार, उपचार, रोग नियन्त्रण, खोप तथा औषधिको व्यवस्था, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन र पुनःस्थापनाका लागि विशेष पहल आवश्यक रहेको एशोसिएसनको भनाइ छ।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदी र महासचिव डा. शंकर न्यौपानेले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा एशोसिएसनले प्रभावित क्षेत्रमा पशु चिकित्सक सम्मिलित विशेष टोली तत्काल परिचालन गर्ने जानकारी दिएको छ। टोलीले पशुपन्छी उद्धार, उपचार, रोग नियन्त्रण तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने जनाएको छ।
त्यस्तै, प्रभावित नागरिक तथा पशुपालकको पीडामा साथ दिन पशु चिकित्सक, सरकारी निकाय, पशु सेवा विभाग, प्रदेश तथा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, पशु स्वास्थ्य प्राविधिक, पशुपन्छी तथा मत्स्य क्षेत्रका व्यवसायी र औषधि व्यवसायीलगायत सबै सरोकारवालालाई आवश्यक प्राविधिक, औषधिजन्य तथा आर्थिक सहयोग उपलब्ध गराउन एशोसिएसनले आग्रह गरेको छ।
विपद्को समयमा सबै पक्षबीच समन्वय र सहकार्य गर्दै पशुपन्छी तथा मत्स्यको उद्धार, उपचार, रोग नियन्त्रण, राहत र पुनःस्थापनामा एकताबद्ध भएर सेवा प्रदान गर्न एशोसिएसनले अपिल गरेको छ।








