काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको मृत्यु, बेपत्ता र व्यापक भौतिक क्षति भएकोप्रति उनले दुःख व्यक्त गरेको उल्लेख छ।
गुटेरेसले बाढीमा परी ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्बाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँग संयुक्त राष्ट्रसंघ साथमा रहेको बताएका छन्।
नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा प्रतिकार्यमा सहयोग गरिरहेको वक्तव्यमा जनाइएको छ।
बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको महासचिव गुटेरेसले बताएका छन्।
उनले जीवनरक्षाका लागि खटिएका आपत्कालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावितलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको प्रतिबद्धता पनि दोहोर्याएका छन्।







