काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा हिजो आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन्। हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार एवं उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार द्रुत रूपमा टोली परिचालन गरिनेछ।
आज बिहान मात्रै एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढीबाट प्रभावित क्षेत्रमा खटाएको छ।
बाढीपछि विभिन्न संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभागलगायतका सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ।
सम्पर्क तथा सहजीकरणका लागि सार्वजनिक गरिएका नम्बर
- निःशुल्क हटलाइन: ११५९
- डा. शंकर न्यौपाने (महासचिव): ९८४५४४०४०४
- डा. विशाल पोखरेल (सचिव): ९८४३३९७५८७
- डा. दिनेश अर्याल (केन्द्रीय सदस्य): ९८४००१७०७६






