काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट उत्पन्न राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनबारे उच्चस्तरीय छलफल गरेका छन् ।
नुवाकोटको विदुर क्षेत्रमा बाढीबाट प्रभावित स्थानको स्थलगत निरीक्षण गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूको आपतकालीन बैठक बोलाएका हुन् ।
बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष सम्बन्धित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य र नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र विस्थापित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
विस्थापित नागरिकका लागि सञ्चालन गरिएका राहत शिविर व्यवस्थित, स्वच्छ र सुरक्षित हुनुपर्नेमा उनले विशेष जोड दिएका छन् । शिविरमा व्यक्तिगत गोपनीयता कायम राख्नुका साथै महिला, बालबालिका तथा वृद्धवृद्धालाई सम्मान, सुरक्षा र विशेष प्राथमिकता दिन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचनाको पुनः सञ्चालनलाई तीव्रता दिन सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित काम गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।







