इलाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई स्थानीय तहले रु ३५ लाख सहयोग गर्ने भएका छन् ।
चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
चुलाचुली गाउँपालिकाको बिहीबार बसेको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सात दिन तथा वडाध्यक्ष र कार्यपालिका सदस्यको पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
गाउँपालिकाका विभिन्न तहमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत सहयोगमा समेटिने उनले बताए । जनप्रतिनिधि तथा शिक्षक–कर्मचारीबाट रकम सङ्कलन गरी रु २५ लाख पुर्याएर कोषमा जम्मा गरिने अध्यक्ष केरुङले बताए ।
यस्तै, माई नगरपालिकाको बिहीबार बसेको ६५औँ कार्यपालिका बैठकले जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको दुई दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम व्यवस्था गरी कुल रु १० लाख सहयोग गरिने नगरपालिकाले जनाएको छ ।
इलामका आठ जना सम्पर्कविहीन
यसैबीच, भोटेकोशी बाढीका कारण विभिन्न काम तथा भ्रमणका क्रममा रसुवामा रहेका इलामका आठ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल तथा सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन छन् । न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए भने सुवेदी उनीहरूका चालक रहेको जनाइएको छ ।
त्यसैगरी, माई नगरपालिकाका विनोद राई तथा फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक) र विनु थेगिम पनि सम्पर्कविहीन छन् । उनीहरू रसुवाको मैलुङ–गगनी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रहेको प्रजिअ ढकालले बताए ।
बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल सबडिभिजन वन कार्यालय, माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
प्रजिअ ढकालका अनुसार सुरक्षाकर्मी तथा जनप्रतिनिधिमार्फत सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन भइरहेको छ । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए ।
प्रशासनले बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको अवस्था बुझी परिवारलाई जानकारी गराउन आग्रह गरेको छ । सम्पर्कविहीन व्यक्तिबारे जानकारी भए आपत्कालीन उद्धार केन्द्रको १२३४, ०२७–५२३९८८ वा ९८५२६३३३९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।







