माथिल्लो त्रिशूली जलविद्युत्‌ आयोजनाको सुरुङमा फसेका ३५० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका ३५० जना मजदुरको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस फसेपछि उनीहरूको अवस्थालाई लिएर चिन्ता बढेको थियो। चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली सेनाले उद्धार अभियान सञ्चालन गर्दै ३५० जनालाई सुरक्षित स्थानमा ल्याएको हो।

तर, सुरुङभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ। उनीहरूको उद्धारका लागि पनि सुरक्षा निकायले निरन्तर प्रयास गरिरहेको जनाइएको छ।

नेपाली सेनाका अनुसार बिहीबार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट स्थानीयवासी तथा मजदुर गरी कुल ८८३ जनाको उद्धार गरिएको छ।