कास्की । त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाको खोजीका क्रममा सुरक्षाकर्मी तथा स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा शव फेला पारेका थिए । ती जिल्लामा शवको व्यवस्थापन तथा परीक्षणका लागि पर्याप्त व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।
उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको हो । ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।
तनहुँका विभिन्न स्थानमा फेला परेका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ ।
शवको परीक्षणपछि पहिचान खुलाउन सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।






