काठमाडौँ । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार उपत्यका प्रवेश गर्ने मुख्य नाकादेखि पहाडी जिल्लाहरू जोड्ने सडकसम्म आवागमन अवरुद्ध भएको छ।
काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। यससँगै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकामध्ये एकमा यातायात ठप्प भएको छ।
इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पनि अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडकबाट भने आवागमन गर्न सकिने जनाइएको छ।
बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका विभिन्न प्रमुख सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
टोखा–छहरे सडकखण्डको घट्टेपुल क्षेत्रमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।
यसैगरी, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडकखण्ड तत्काल सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ। रसुवाका अन्य प्रमुख सडकहरू पनि साउन १० गतेदेखि बन्द अवस्थामा रहेका छन्।
प्रहरीले बाढी, पहिरो तथा सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।








