अजरबैजानमाथि युद्धविराम भंग गरेको आरोप

कात्तिक २, काठमाडौं ।
अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् । अर्मेनियाले लगाएको यो आरोपबारे अजरबैजानले कुनै प्रतिक्रिया दिएको छैन ।

२१ दिनसम्म चलेको लडाइपछि अर्मेनिया र अजरबैजान दोस्रो पटक विवादित नागोर्नो काराबाख क्षेत्रमा ‘मानवीय युद्धविराम’का लागि तयार भएका थिए ।

दुवै देशबीच शनिबार मध्यरातिदेखि युद्धविराम लागु हुने बताएका थिए ।

यस अघि पनि यी दुई देशले गत हप्ता युद्धविरामको निर्णय गरेका थिए । तर त्यो अर्को दिनमै भंग भएको थियो ।

युद्धविराम भंग हुनुको दोष दुवै देशले एकअर्कालाई लगाउने गरेका छन् । युद्धविराम भएको घोषणा गरिए पनि दुवै देशका सेनाबीच झडप भइरहेको छ । (एजेन्सी)