भक्तपुर । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणको स्थलमार्गबाट उद्धार सुरु गरिएको छ।
बागमती प्रदेश सरकारले वैकल्पिक सडकमार्ग प्रयोग गरी धुन्चेमा रोकिएका नागरिकलाई काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। उद्धार तथा आवतजावत सहज बनाउन मुख्यमन्त्री किरण थापा मगरले सम्बन्धित निकायसँग समन्वय गरेका छन्।
मुख्यमन्त्री थापाका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणका लागि प्रदेश सरकारले खाना तथा बसोबासको व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्याइने र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्याई पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था गरिएको छ।
उद्धारको पर्खाइमा रहेका यात्रुका लागि प्रदेश सरकारले निःशुल्क बसको समेत व्यवस्था गरेको थापाले बताए। धुन्चेसँगै चौगटी क्षेत्रमा पनि सर्वसाधारणका लागि खानाको प्रबन्ध प्रदेश सरकारले गरेको छ।
यसैबीच, त्रिशूलीपारि अवरुद्ध मध्यपहाडी लोकमार्गको मर्मत गरी यातायात सञ्चालनमा ल्याउने काम पनि अघि बढाइएको प्रदेश सरकारले जनाएको छ। उक्त सडक सञ्चालनमा आए रसुवासहित बाढी प्रभावित क्षेत्रका नागरिकलाई वैकल्पिक मार्गबाट काठमाडौँ आउन सहज हुनेछ।
रसुवा पुनः सडक सञ्जालसँग जोडियो
भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण अवरुद्ध रसुवाको सडक सम्पर्क पुनःस्थापित भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो।
सडक सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।






