काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा बाढी, पहिरो तथा कटानका कारण आवागमन अवरुद्ध भएको हो ।
बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र नुवाकोटका विभिन्न मुख्य सडक खण्ड पनि बाढीका कारण बन्द रहेका छन् ।
काभ्रेको विपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । विपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको प्रहरीले जनाएको छ । नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत धादिङका ज्वाङखोला, गल्छी, बैरेनीलगायत क्षेत्रमा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशको रोल्पामा सहिद राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक खण्ड रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशमार्ग नागढुङ्गा–मुग्लिन सडक भने हाल पूर्ण रूपमा सञ्चालनमा रहेको छ । यद्यपि, धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।
वर्षायाममा सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।









