ठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि सरकारको प्रयास जारी छ। दुई दिनदेखि उद्धार कार्यमा जुटेको टोलीले शनिबार बिहानदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र बनाएको छ।
सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरेको हो। टोलीले सुरुङको मुखमा जम्मा भएको लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खुलाउने र भित्र फसेकाहरूको खोजी गरिरहेको छ।
उद्धार कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० गरी ८२ जना सुरक्षाकर्मी निरन्तर खटिएका छन्। घटनास्थलमा प्रतिकूल मौसम रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ।
यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई निरीक्षण गरेको छ। निरीक्षणपछि आवश्यकताअनुसार टोलीलाई थप उद्धार कार्यमा परिचालन गरिने बताइएको छ।







