काठमाडौं। युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदाय। लाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
इयूले आज विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्
“उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो । विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए”, विज्ञप्तिमा भनिएको छ । इयूले आफ्नो प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ ।
स्थानीय प्रतिकार्यमा सहयोग पुर्याउन इयूले प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउन ‘कोपरनिकस’ भू-उपग्रह सेवा सक्रिय गरेको छ । इयू कमिस्नर फर प्रिपेयर्डनेस एण्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेका, गाउँहरू सम्पर्कविहीन भएका र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेका उल्लेख गर्दै यस बाढीले विगतका विपद्बाट पुनर्निर्माणमा रहेका समुदायलाई थप प्रभावित बनाएको बताए ।
उनले इयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी तथा आश्रयका लागि २० लाख युरो उपलब्ध गराइएको विज्ञप्तिमार्फत जानकारी दिए।






