भोटेकोशी नदीमा पुनः बाढी

जलसतह घट्दै, जनजीवन सामान्यतर्फ

रसुवा। भोटेकोशी नदीमा आज बिहान पुनः बाढी आएका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ।

गएको भदौ १० गतेको भीषण बाढीले आतङ्कित बनेका रसुवा, नुवाकोट लगायत तल्लो तटीय क्षेत्रका बासिन्दामा आज बिहानको बाढीले थप त्रास फैलाएको गोसाइँकुण्डका स्थानीय कैसाङनुर्पु तामाङले जानकारी दिएका छन्।

बिहान करिब ३:३० बजे ठूलो आवाजसहित बाढी आएपछि नदीतटभन्दा माथि रहेका धुञ्चेवासी समेत सुरक्षित स्थानतर्फ लागेका थिए। उनीहरू अस्पताल क्षेत्र तथा खेलमैदानमा एकत्रित भएर बसेका थिए। अहिले भने नदीको बहाव घट्न थालेसँगै स्थानीयवासी आ-आफ्नो घर फर्किएका छन्।

बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरी पूर्वसावधानीका लागि ‘माइकिङ’ गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले बताए।

यसैबिच, आपत्कालीन उद्धार तथा निरीक्षणका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो तटीय क्षेत्रतर्फ प्रस्थान गरेको छ। पुनः आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।