काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
मलेसियामा आइतबारदेखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका हुन्।
‘असल काममा आफ्नो सानो योगदानस्वरूप, क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त हुने मेरो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेछु,’ उनले लेखेका छन्।
देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरूको मन नेपालमै रहेको उल्लेख गर्दै लामिछानेले प्रतियोगितामा नेपाली टोलीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्ने बताएका छन्।
उनका अनुसार नतिजाभन्दा पनि मैदानमा टोलीको प्रदर्शनले विपद्बाट प्रभावित नेपालीको अनुहारमा केही खुसी ल्याउन र उनीहरूलाई उत्साहित हुने कारण दिन आफूहरूको चाहना छ।
लामिछानेले एसीसी प्रिमियर कपमा नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ तथा नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो,’ उनले भनेका छन्।
उनले यसरी संकलन हुने रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने जानकारी दिएका छन्।
तेस्रो संस्करणको एसीसी प्रिमियर कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा १० टोली सहभागी छन्। नेपालले उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ।
नेपालले प्रतियोगिताको पहिलो खेल सोमबार बहराइनसँग खेल्नेछ।







