काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको कृष्णभिरमा भासिएको सडकको सडक विभागले प्राविधिक अध्ययन थालेको छ।
बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको हो। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार प्राविधिक टोलीले आइतबार घटनास्थल पुगेर सडकको अवस्थाबारे अध्ययन गरिरहेको छ।
प्राविधिक टोलीले दिने सुझाव र जोखिम मूल्यांकनका आधारमा सडक पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइने विभागले जनाएको छ।
नदी किनारमा निर्माण गरिएको पर्खालसमेत कटानमा परेपछि सडक भासिएको हो। सडक भासिएसँगै अहिले मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
महानिर्देशक जैसीले कृष्णभिर आफैंमा जटिल भूगोल भएको क्षेत्र रहेको र नदीले तलबाट निरन्तर कटान गरिरहेकाले जोखिम मूल्यांकनपछि मात्रै सडक पुनः सञ्चालनबारे निर्णय गरिने बताए।







