भोटेकोशीको बाढीपहिरोमा कोशी प्रदेशका सम्पर्कविहीन १६१ को सूची सार्वजनिक (सूचीसहित)

​ विराटनगर। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रारम्भिक सूचीमा १६१ जना बेपत्ता रहेको उल्लेख छ।

रोजगारी तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरूमध्ये अधिकांश जलविद्युत आयोजना, यातायात, पर्यटन तथा होटल व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना बेपत्ता छन्। त्यस्तै ओखलढुङ्गाका २५, उदयपुरका १७, मोरङका १७, सुनसरीका १५, झापाका १२, खोटाङका १०, इलामका ९, भोजपुरका ३, संखुवासभाका ३, ताप्लेजुङका २, धनकुटाका २ र पाँचथरका १ जना रहेका छन्। मोरङको सूचीमा भारतको मधेसापुरा, बिहारका एक जना पनि समावेश छन्।

बेपत्ता हुनेहरूमा इन्जिनियर, कुक, अपरेटर, मजदुर, टिप्पर तथा कन्टेनर चालक, ट्रेकिङ गाइड र होटल व्यवसायी रहेका छन्। विशेषगरी अपर त्रिशूली–१, साञ्जेन, मैलुङ हाइड्रोपावरलगायत जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरहरू प्रभावित भएको विवरणमा उल्लेख छ।

त्यस्तै चीनसँगको सीमा क्षेत्र टिमुरे तथा तातोपानीमा कन्टेनर चलाउने चालक, मानसरोवर जाने पर्यटकका गाइड र स्थानीय होटलमा कार्यरत तथा व्यवसाय गर्ने व्यक्तिहरू पनि बाढीपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

बेपत्ता सूचीमा ५ महिनाका बालकदेखि ७३ वर्षसम्मका वृद्ध समेत छन्। झापा, मोरङ र सुनसरीका बेपत्ता व्यक्तिहरू रसुवाको सीमा क्षेत्र, टिमुरे तथा स्याफ्रुबेँशीबाट सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार सूचीमा रहेका १६१ जनामध्ये १९ जना घाइते अवस्थामा फेला परिसकेका छन् भने केहीको उद्धार र केही सकुशल सम्पर्कमा आएका छन्। बाँकीको खोजी तथा उद्धार कार्य जारी रहेको रसुवा र कोशी प्रदेश प्रहरीले जनाएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले बेपत्ता तथा क्षतिको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिका परिवारजनले थप जानकारीका लागि सम्बन्धित स्थानीय प्रहरी प्रशासन वा कोशी प्रदेश प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

1-2_page-0001_nOKbU9K1Qg-1788095335.webp
2-2_page-0002_rBltjfDn5G-1788095348.webp
3-2_page-0003_i78IlIqBdq-1788095352.webp
4-2_page-0004_FLPlOeZSou-1788095358.webp