रसुवा बाढी अपडेट : ७८१ जनाको शव फेला, २ हजार ५०२ अझै सम्पर्कविहीन

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको मानवीय क्षति, खोज तथा उद्धार र राहतसम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार २०८३ भदौ १४ गते साँझ ६ बजेसम्म बाढी तथा पहिरोमा परी विभिन्न मानव अंगसहित ७८१ जनाको शव फेला परेको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।

चितवनमा सबैभन्दा धेरै शव

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २७२ जना रहेका छन्। यस्तै नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनासँग सम्बन्धित ९३३ जना छन्। रसुवाका ५६२, नुवाकोटका ११५, मकवानपुरका ६५, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, भन्सारका १५ र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन छन्।

त्यसैगरी अध्यागमनका ४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना बेपत्ता छन्। ५९२ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

९ हजार ४३५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। जलविद्युत् आयोजनाको सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी २७९ जनालाई उद्धार गरिएको छ।

नेपाली सेनाले हालसम्म ३ हजार ३११ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २४४ जना विदेशी र ३ हजार ६७ जना नेपाली रहेका छन्। आज हाइड्रोबाट १५ जना चिनियाँ नागरिकको समेत हवाई उद्धार गरिएको छ।

हालसम्म उद्धारका क्रममा ३९४ वटा हवाई उडान भएका छन्। त्यसमध्ये आइतबार मात्रै ७२ उडान गरिएको प्राधिकरणले जनाएको छ।

२६७ जना घाइते

बाढी तथा पहिरोमा परी हालसम्म २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ५२१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।

राहत सामग्री र नगद सहयोग

प्रभावित क्षेत्रमा ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत पनि ८ वटा उडानबाट राहत सामग्री पुर्‍याइएको छ। भदौ १३ गते उत्तरगया र धुन्चेमा २ टन खाद्य तथा उद्धार सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

प्रभावित क्षेत्रमा हाल २३ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १ हजार ५०० लिटर हवाई इन्धन मौज्दात रहेको छ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। थप विवरण प्राधिकरणको फेसबुक पेज तथा नेपाल प्रहरीको विपद् पोर्टलमा उपलब्ध रहेको जनाइएको छ।