काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकट व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिने क्रमलाई तीव्रता दिएका छन्।
प्रधानमन्त्री शाहले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र व्यवस्थापनका कामको अवस्थाबारे जानकारी लिइरहेका छन्।
यसक्रममा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका खोज तथा उद्धार, राहत र व्यवस्थापनसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन्।
त्यसपछि उनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि भेट गरी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत छलफल गर्ने भएका छन्। भेटमा बाढीपछि रसुवालगायत प्रभावित क्षेत्रमा देखिएको सुरक्षा अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिने जनाइएको छ।
भोटेकोशीमा आएको बाढीपछि रसुवामा गम्भीर संकट उत्पन्न भएपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र आवश्यक व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।






