चीनद्वारा तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौँ । विनाशकारी बाढी र पहिरोको जोखिम बढेको जनाउँदै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ।

भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीले अर्को मुख्य उत्तरी नाका रसुवागढीको टिमुरे बजार, भन्सार तथा अध्यागमन कार्यालयहरू पूर्ण रूपमा ध्वस्त बनाएलगत्तै चीनले तातोपानी नाकासमेत बन्द गर्ने निर्णय गरेको हो। दुवै प्रमुख उत्तरी नाका ठप्प भएपछि नेपाल-चीनबीचको स्थल व्यापार गम्भीर सङ्कटमा परेको छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार सीमावर्ती लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले व्यापारिक गतिविधि सुचारु नगर्ने जानकारी गराएको छ । तातोपानीबाट मालवाहक सवारीसाधन र व्यापारिक आयात-निर्यात रोकिए पनि सर्वसाधारण यात्रुहरूको आवतजावत भने जारी रहने महावाणिज्यदूत निरौलाले बताए ।

नेपालका दुई प्रमुख व्यापारिक धमनी मानिएका रसुवागढी र तातोपानी नाका एकसाथ बन्द भएपछि अब चीनसँगको व्यापारका लागि मुस्ताङस्थित कोरला नाका मात्रै एकमात्र विकल्पका रूपमा बाँकी रहेको छ । मुख्य नाकाहरू बन्द हुँदा आगामी चाडपर्वका लागि चीनबाट आउँदै गरेका खर्बौँ मूल्यका व्यापारीक सामग्रीहरू सीमापारि नै अलपत्र पर्ने जोखिम बढेको छ ।