इन्धनको मूल्य नबढाउने आयल निगमको निर्णय, १५ दिनमा १ अर्ब २४ करोड घाटा हुने

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि उपभोक्ताका लागि इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोसी नदीमा आएको असाधारण बाढी तथा त्यसबाट सिर्जित विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल कायम रहेको मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।

आईओसीले भदौ १५ गते पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलको ४ रुपैयाँ ३३ पैसा, मट्टितेलको १० रुपैयाँ १९ पैसा र हवाई इन्धनको ४ रुपैयाँ ९६ पैसा बढेर आएको थियो। यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा वृद्धि भएको थियो।

तर, बाढीपहिरोका कारण नागरिकले भोगिरहेको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम राखेको जनाएको छ।

निगमका अनुसार पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन भने ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि उपभोक्तालाई राहत दिने उद्देश्यले बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।